काठमाडौं, असार १७, मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान तथा अन्य मौसमजन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल ले उद्धार तथा विपद् व्यवस्थापनका लागि आफ्नो तयारीलाई थप सुदृढ बनाएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्की का अनुसार मनसुनजन्य विपद्को सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशका उच्च जोखिमयुक्त क्षेत्रमा ५४ वटा मनसुन प्रतिकार्य बेस सञ्चालनमा ल्याइएको छ । यसका अतिरिक्त, स्थायी रूपमा सञ्चालन भइरहेका १६ वटा विपद् व्यवस्थापन बेस समेत पूर्ण रूपमा सक्रिय राखिएका छन् ।
प्रवक्ता कार्कीका अनुसार नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा विपद् प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, उद्धार सामग्री, डुङ्गा, उपकरण तथा अन्य आवश्यक साधनस्रोत चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ ।
उनले विपद् जुनसुकै बेला र जहाँसुकै आउन सक्ने भएकाले सशस्त्र प्रहरीले पूर्वतयारी, खोज, उद्धार तथा राहत व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आवश्यकता परेका जुनसुकै स्थानमा तत्काल उद्धार टोली परिचालन गर्न सकिने गरी दक्ष जनशक्ति र आवश्यक उपकरण तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपालले मनसुन अवधिभर सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै मौसमको पूर्वानुमान तथा सम्भावित जोखिमका आधारमा उद्धार टोली परिचालन गरिने जनाएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी गरिने सूचना तथा निर्देशनको पूर्ण पालना गर्न, र आपत्कालीन अवस्थामा तत्काल सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले मनसुनको चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न पूर्वतयारीलाई अझ मजबुत बनाउँदै विपद्को हरेक परिस्थितिमा नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो उद्धार संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।