आज मिति २०८० चैत्र २७ गते मङ्गलबार  अबको ३ दिनपछि  यो नयाँसाल फेरिन्छ यो नयाँमहिना फेरिन्छ यो  नयाँगते फेरिन्छ र यो नयाँदिन फेरिन्छ ।आउँदो नयाँ सालमा धेरै कुरा नयाँ हुन्छ ।तर हाम्रो 'नयाँ नेपाल 'कहिले आउँछ  ? 

राजा बदलियो ,नेता बदलियो देशलाई लुट्ने तरिका बदलियो ।एक पुस्ताबाट अर्को पुस्तामा नयाँ नेपाल को सपना बोकेका आँखासमेत बदलियो तर आज पनि यी आँखाले सपना एउटै छ ' नयाँ नेपाल ' ।

२०६३ सालमा २५० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भयो । परिवर्तनको आशामा देशभरि खुसियाली मनाइयो, नेताहरूको अविर जात्रा भयो । जनताको छोरो, हिजो आन्दोलनको नेतृत्व गर्ने योद्धा देशको कार्यकारी भूमिकामा पुग्यो । मेचीदेखि महाकालीसम्मका सबै नेपालीहरू खुसीले गद्गद् हुँदै सोचे– अब देशमा विकासको मूल फुट्ने छ । अबरुद्ध भएको विकासले निकास पाउने छ । राज्यबाट गरिने सबै खालको विभेदको अन्त्य हुनेछ ।

नयाँ नेपालको नाममा देशका हरेक क्षेत्रमाभ्रष्टाचार हुँदैछ  । शिक्षा क्षेत्रमा भ्रष्टाचार, स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, प्रशासनिक क्षेत्रमा भ्रष्टाचार, उद्योग, व्यापार, पर्यटनलगायतका क्षेत्रमा भ्रष्टाचार । त्यसैगरी सामाजिक सद्भाव बिगर्ने, विकास योजनाको कार्यान्वयनमा भ्रष्टाचार, प्रान्तीय सरकारको अवस्था भ्रष्टाचार र त्यत्तिकै भ्रष्टाचार स्थानीय तहको कार्यशैली ।राजनीतिक क्षेत्र भ्रष्टाचार भएपछि अन्य क्षेत्र पूर्ण रूपमा भ्रष्टाचार हुँदारहेछन् भन्ने कुरा नेपाली जनताले गहिरोसँग अनुभव गरेका छन् ।

 हाम्रो देश नेपालमा माथिदेखि तलसम्म सबै भ्रष्टाचारको पोखरीमा पौडी खेल्दैछन् ।यति सानो भूगोल र जनसंख्या भएको देशमा उल्लिखित भद्दा राज्यको संरचनालाई मुलुककोे आर्थिक अवस्थाले धान्न नै नसक्ने अवस्था छ । यति ठूलो प्रशासनिक आर्थिक व्ययभार बढाएर देशको प्रगति कसरी सम्भव हुन्छ ? मुलुकमा सुशासन र जावफदेहिता नभएकाले केन्द्रदेखि पालिकासम्म भ्रष्टाचार भइरहेको छ ।

'नयाँ नेपाल ' नबन्नुको कारण इमान्दार नेतृत्वको कमीले , भ्रष्टाचार, दण्डहीनता, कुशासन, नातावाद, आफन्तवाद, पार्टीवाद, स्वार्थ र कुशल नेतृत्वको अभावले गर्दा हो ।राजनीतिक झगडामा देशलाई फँसाएर नेपालको भविष्य र नेपालीको भाग्यमा राज्यले खेलबाड गर्ने नेतृत्वका कारणले हो । 

हिजो ‘जनताले समयमा मल पाएनन्, बजार पाएनन्, मूल्य पाएनन्’ भनियो । ‘सुरक्षा पाएनन्, औषधि पाएनन्, शिक्षा पाएनन्, रोजगारी पाएनन् र एउटा नागरिक हुनुको सम्मान समेत पाएनन्’ भनियो । ‘आन्दोलन र सङ्घर्ष गरे सबै पाइन्छ’ भन्ने आशा देखाइयो । हरेक पटक जनताले नै त्याग गरे, बलिदानी दिए ।

तर आज उनीहरूले के पाए ? आम जनताको जीवनस्तरमा के तात्विक अन्तर आयो ? आम जनताका लागि पञ्चायत, राजतन्त्र, प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्रमा के फरक भयो ? खै त जनताको त्यत्रो सङ्घर्ष र बलिदानीको मूल्य ? जनतालाई बाँडिएका सपना कहिले पूरा हुन्छन् ? तमाम प्रश्नहरू उठेका उठ्यै छन् ।